नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को स्थायी कमिटीको प्रथम बैठक सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को स्थायी कमिटीको प्रथम बैठक अध्यक्ष तथा प्रधानमन्त्री कमरेड केपी शर्मा ओलीको अध्यक्षता र अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा प्रधानमन्त्री निवास बालुवाटारमा आज सम्पन्न भएको छ ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्षद्वयले पार्टी एकताबद्ध भएपछि कार्यकर्ता र जनसमुदायमा पैदा भएको उत्साहलाई आत्मसात गर्दै पार्टी निर्माणमा जुट्न सक्रियतापूर्वक लाग्नुपर्नेमा जोड दिनुभयो । पार्टी एकतालाई अझ सुदृढ र फलदायी बनाउन दुबै अध्यक्षले पार्टी पंक्तिलाई आह्वान र निर्देशन गर्नुभएको छ ।  

बैठकले पार्टी एकता एक अद्वितीय, असाधारण र विशिष्ट घटना भएकाले त्यसका आधारमा अघि बढ्नुपर्नेमा जोड दि“दै सांगठिक एकीरकणको प्रक्रियालाई छिटोभन्दा छिटो अघि बढाउने निष्कर्ष निकालेको छ । सरकारका कामहरुको जनस्तरमा राम्रो प्रभाव परिरहेको निष्कर्ष निकाल्दै बैठकले थप विषयमा आत्मसमीक्षा गर्दै अझ प्रभावकारी काम गर्नुपर्नेमा जोड दिनुका साथै सरकारका कामहरुमा पार्टी पंक्तिलाई परिचालन हुन आह्वान गरेको छ ।

बैठकमा महासचिव कमरेड विष्णु पौडेलले एकतापछि भएका सांगठनिक कामहरुका बारेमा जानकारी गराउनुभएको थियो । एकीकरण प्रक्रिया ठीक ढंगले बढिरहेको र यसलाई गतिका साथ अघि बढाउनुपर्नेमा बैठकले जोड दिएको छ । 

महासचिव कमरेड विष्णु पौडेलको संयोजकत्वमा गठित नियमावली मस्यौदा कार्यदलले बुझाएको मस्यौदामाथि छलफल भएको छ । उक्त मस्यौदामाथि स्थायी कमिटी सदस्यहरुले १० दिनभित्र आफ्ना राय–सुझावहरु दिने र केन्द्रीय सचिवालयले ती राय–सुझावहरु समेटेर तयार पारेको प्रस्ताव १५  दिनभित्र स्थायी कमिटीको बैठकबाट पारित गर्ने तय भएको छ ।
बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री कमरेड ओली र स्थायी समिति सदस्य तथा परराष्ट्रमन्त्री कमरेड प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको आसन्न चीन भ्रमणका बारेमा जानकारी गराउनुभयो । भ्रमण तयारी राम्रो रुपमा भएको र त्यसलाई आपसी हितका पक्षमा केन्द्रित गराउने काम भइरहेको उल्लेख गर्दै उहा“हरुले भ्रमण ऐतिहासिक रुपमा सफल हुने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रेस विज्ञप्ति

नवयुग

ठेगाना