शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम

नेपाल बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक तथा बहुधार्मिक विविधताले भरिपूर्ण राष्ट्र हो । विविधताभित्रको एकता, आपसी सद्भाव, सहिष्णुता तथा समझदारी र सहकार्यको आफ्नै विशेषता अनि शदियौंदेखि चल्दै आएका परम्पराले नेपाली समाजलाई सप्तरङ्गी इन्द्रेणीजस्तै बनाएको छ । नेपाली समाजमा चालिआएका चाडबाड तथा सँस्कृतिहरूले नेपाली–नेपाली बीचको एकतालाई अझ मजबुत र अटुट बनाएको छ । ऐतिहासिक परम्परा तथा सँस्कृतिहरूको संरक्षण तथा सम्बद्र्धन गर्नु र समयानुकूल रूपान्तरण गर्दै जानु आजका दिनमा राज्य र पार्टीका दायित्व बनेको छ । 
हाम्रो पार्टीले विगतदेखि नै नेपालीहरूले मनाउँदै आएका चाडबाड र साँस्कृतिक पर्वहरूका अवसरमा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम गर्दै आएको सर्वविदितै छ ।

​नयाँ संविधान लागू भएर तीनै तहको निर्वाचन सम्पन्न गरी मुलुक सम्मृद्धिको महाअभियानतर्फको राष्ट्रिय अठोटमा हिँडिरहेको वर्तमान अवस्थामा राज्यका सबै निकाय, राजनीतिक दल, नागरिक समाज तथा विकासका साझेदार मित्रहरूका बीचमा बलियो एकता र आपसी विश्वास अभिबृद्धि गर्न यसपटक पनि हाम्रो पार्टीले बडादशैं, तिहार, नेपाल सम्बत् ११३९ नयाँ बर्ष, छठलगायत समस्त नोपली चाडपर्वका उपलक्ष्यमा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ । 

२०७५ कात्तिक १० गते काठमाडौंको भृकुटीमण्डपमा अपरान्ह १२ बजेदेखि ५ बजेसम्म आयोजना गरिने कार्यक्रमका लागि पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’का नामबाट निमन्त्रणा–पत्र पठाइएको छ । 

उक्त शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रमको अपरान्ह १२ बजेदेखि ३ बजेसम्म पार्टीका नेता–कार्यकर्ता तथा आम जनसमुदायलाई आमन्त्रण गरिएको छ भने अपरान्ह ३ बजेदेखि ५ बजेसम्म विभिन्न राजनीतिक दलका नेताहरू, मन्त्री तथा साँसदहरू, संवैधानिक अङ्गका पदाधिकारीहरू, सरकारका उच्चपदस्थ पदाधिकारीहरू, सुरक्षा निकायका पदाधिकारीहरू, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरू, सेवानिबृत्त पदाधिकारीहरू, विभिन्न पेसा तथा समुदायका विशिष्ट व्यक्तित्वहरू लगायतलाई आमन्त्रण गरिएको छ । 

पार्टीद्वारा प्रेषित निमन्त्रणा–पत्र प्राप्त हुननसकेको भएमा पनि हाम्रो पार्टीद्वारा आयोजित शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा उपस्थितिका लागि सम्बद्ध सबैमा पार्टीका तर्फबाट हार्दिक आमन्त्रण गर्दछु । 
विष्णुप्रसाद पौडेल
महासचिव
 

प्रेस विज्ञप्ति

नवयुग

ठेगाना